अब नेपाल बनाउन धेरै समय लाग्दैन, राम्रो काम जसले जहाँबाट शुरु गरेपनि साथ दिइन्छ -प्रचण्ड

काठमाडौँ, १६ माघ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब देश बनाउन धेरै समय नलाग्ने बताएका छन् । काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजना गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा निर्माण घोषणा कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले राम्रो कामलाई साथ दिने संस्कारलाई निरन्तरता दिन सके देश बन्न समय नलाग्ने बताए ।

‘राम्रो काम जसले जहाँबाट शुरु गरेपनि सबैले साथ दिने संस्कारलाई निरन्तरता दिन सकियो भने मलाई लाग्छ देश बनाउन धेरै समय लाग्दैन, अब देश बन्छ’, प्रचण्डले भने ।

यसको सानो भ्रुण आज देखिएको उनले बताए । ‘यो हलमा थुप्रै कार्यक्रम भए तर, यसरी सबै पक्ष उपस्थित कार्यक्रम आज भएको छ । हामी सबै क्षेत्र र पार्टीका मान्छेहरु छौँ, चाहेपछि गर्न सक्नेवाला मान्छे छौँ’, प्रचण्डले भने ।

उनले विश्वमा नेपालमा चिनाउने अभियानको शुरुवात भएको टिप्पणी गरे । सही काम जहाँबाट शुरु भएपनि सम्पूर्ण नेपालीले हातेमालो गर्ने उनको विश्वास छ । रंगशालाको नाम गौतमबुद्ध राखेर नेपालको चिनारी नयाँ ढंगले गर्न खोजिएको प्रचण्डले बताए ।

खेलकुद क्षेत्रले कुनैपनि विभेद र अन्तर नमान्ने बताउँदै उनले यो निकै सकारात्मक पाटो भएको बताए । भरतपुरमा अन्तर्राष्ट्रिय रंगलाशा बनाउने अभियानमा साथ दिने प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रचण्डले धन्यवाद दिए ।

हाँस्यकलाकार तथा सामाजिक अभियन्ता धुर्मुस–सुन्तलीले बुधबार रंगशाला निर्माणको घोषणा गरेका गरेका हुन् । २० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशाला गुरुयोजना तयार भएको २ वर्षभित्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गर्ने फाउन्डेसनको तयारी छ ।

रंगशाला निर्माणको लागत ३ अर्ब अनुमान गरिएको छ । रंगशाला करिब ३० हजार दर्शक क्षमताको हुनेछ । मौलिक डिजाइनमा बन्ने रंगशाला कमलको फूलको आकारमा निर्माण हुनेछ । रंगशालामा ४ गेट रहने छ । मुख्य गेटको डिजाइन स्तुपा रहनेछ । अभ्यासका लागि २ छुट्टै अभ्यास मैदान समेत हुनेछ ।

क्रिकेट एकेडमीसहितको बन्न लागेको रंगशाला परिसरमा फुटबल, स्विमिङ, बास्केटबल, भलिबल, डण्डीबियो लगायतका खेलको मैदान समेत बन्नेछ । ६ महिनाभित्र रंगशालाको विस्तृत परियोजना प्रतिवेदन तयार पारि निर्माण थाल्ने तयारी छ ।

रंगशाला बनेपछि पहिलो खेल भारत र पाकिस्ताबीच गराउने सोच बनाएको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले घोषणा कार्यक्रममा बताइन् । यो समाचार रामकुमार शाहीले दैनिक नेपालको लागि लेख्नु भएको हो।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*