कक्षा २ मा पढ्ने यी ६ वर्षका बालकलाइ स्कुल पुग्न र घर फर्किन ८ घण्टा लाग्छ

अर्घाखाँची: सुन्दर बलाल ६ वर्षका भए। शीतगंगा नगरपालिका–१० सिद्धारा तारिकेका उनी २ कक्षामा पढ्छन्। उनी अक्षर चिन्दै छन्। तर यसका लागि सुन्दरले तिरेको मूल्य हिसाब गरेर साध्य छैन। हरेक दिन स्कुल आउजाउ गर्न उनलाई आठ घण्टा हिँड्नुपर्छ। पुग्न चार घण्टा। फर्किन चार घण्टा। त्यो पनि जंगलको बाटो, एक्लै।

अर्घाखाँची जिल्लाकै अति विकट ठाउँ हो सिद्धारा तारिके। यहाँ स्कुल छैन। चार घण्टा टाढाको हर्रेमा छ, जनजागृति माध्यमिक विद्यालय। त्यो स्कुल धाउनुको विकल्प सुन्दरसँग छैन।

उनी उठ्नेबित्तिकै गाँस टिपेर हिँड्छन्। स्कुल पुग्दा थकान र भोकले बेहाल भइसकेका हुन्छन्। फर्किंदा रात परिसकेको हुन्छ। झुल्दै गाँस टिपेर निदाउँछन्। जंगलको बाटोमा उनलाई स्कुल पुर्‍याउने पनि कोही छैन। न त कोही साथी नै छन्। बुबा विदेशमा छन्। आमा दोस्रो विवाह गरेर गइन्। सुन्दर हजुरआमासँग बस्छन्।

जनजागृति स्कुलमा पढ्ने उनका अरु साथी पनि घण्टौं हिँडेर आउँछन्। केहीले पाँच घण्टा पनि हिँड्नुपर्छ। काठे खोलाका ६ वर्षका कमलबहादुर नेपाली, राजु नेपाली, गोपाल नेपाली दैनिक पाँच घण्टा हिँडेर स्कुल आउने शिक्षिका देवी पोख्रेल पौडेलले बताइन्। तर उनीहरूले सुन्दरले जस्तो जंगलको बाटो हिँड्नु पर्दैन।

उज्यालो हुनेबित्तिकै भात खाएर स्कुल हिँड्नुपर्छ। पुग्दानपुग्दै भोक लाग्छ। विद्यार्थीले भोको पेट पढ्न नसक्ने भएपछि स्कुलले टिफिन बक्सको व्यवस्था गरेको छ। तर टाढाका केटाकेटी आइपुग्दा टिफिन बक्स रित्तो भइसक्ने प्रधानाध्यापक मणिराम पोख्रेल बताउँछन्।

साविकको सिद्धारा गाविस हालको शीतगंगा ९ र १० नम्बर वडा भएको छ। यी दुई वडामा २७ वटा स्कुल छन्। ठूलो र विकट भएका कारण त्यति धेरै स्कुल भए पनि विद्यार्थीहरू चारपाँच घण्टा हिँड्न बाध्य छन्।

जनजागृति मावि पढ्ने थुप्रै केटाकेटी दैनिक ८ देखि १० घण्टा हिँडेर स्कुल ओहोरदोहोर गर्छन्।

भौगोलिक रूपमा शीतगंगा नगरपालिका नेपालकै ठूलो नगरपालिका हो। यहाँका सिद्धारा, सिमलपानीजस्ता क्षेत्रमा आधारभूत सेवासुविधाको अभाव छ। बस्ती पनि जंगलको बीचबीचमा छरिएका छन्। केटाकेटीको स्कुलमा पहुँच छैन। साना केटाकेटीका लागि भएका स्कुल जान सम्भव नभएको जनजागृति मावि व्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद पौडेलले बताउँछन्। यो समस्या समाधानका लागि बस्ती एकीकृत गर्नुको विकल्प नभएको उनको भनाइ छ। सुपारे, ओखटे, झिमझिमे दहजस्ता ठाउँबाट बालबालिका धाउन नसक्ने उनले बताए। ‘नगरपालिकाभित्रै यस्तो दयनीय अवस्था छ,’ उनले भने।

त्यसैले अधिकांश विद्यार्थी स्कुल नै आउँदैनन्। भर्ना हुन, परीक्षा दिन, छात्रवृत्ति र किताब लिन आउँछन्। अरु बेला घरै बस्छन्। त्यसैले उनीहरूको पढाइ पनि निकै कमजोर छ।

स्वास्थ्य सेवाको पनि उस्तै अवस्था छ। सामान्य रोगको उपचार पाउनबाट समेत यहाँका बासिन्दा वञ्चित छन्। रुघाखोकी, झाडापखाला र ज्वरोको औषधी पनि बिरामीले पाउँदैनन्। औषधी पसल छैन। सुत्केरीहरू पीडा खप्न बाध्य छन्।

कतिपयले ज्यानै गुमाइरहेका छन्। सूचना, सञ्चार तथा यातायातको पहुँच छैन। स्वास्थ्य संस्था जान नसक्ने भएपछि स्थानीय बाध्य भएर घरेलु उपचारतिर लाग्छन्।

‘साँझ, बिहान र राति दुर्घटनामा परियो भने तत्काल उपचार पाउन सकिँदैन। नजिक स्वास्थ्य चौकी छैन,’ शीतगंगा नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारी भन्छन्, ‘भूगोलले ठगेको छ। सबैभन्दा पहिले सबैतिर यातायात पुर्‍याउनेगरी योजना बनाउँदै छु। यातायातका कारण कसैले पनि उपचार गर्नबाट वञ्चित नहुनेगरी काम गर्दैछु।’ आजको अन्नपुर्णपोस्टबाट

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*