हिस्टेरिया यसरी हुन्छ

पाठेघर अर्थ भएको ग्रीक शब्द ‘हिस्टेरा’ बाट यो शब्द उत्पत्ति भएको हो । सुरुमा महिलामा मात्र यस रोग उत्पन्न हुन्छ भन्ने सिद्धान्तले यो रोगलाई हिस्टेरिया भनिएको थियो । १७ औँ शताब्दीतिर यो रोग पुरुषमा पनि हुने पत्ता लागिसकेको थियो । २० औँ शताब्दीका प्रख्यात मनोचिकित्सक सिग्मन्ड फ्रायडले यसलाई कन्भरसन डिसअर्डर नामाकरण गरे । हालको आधुनिक युगमा हिस्टेरिया नामले निकै नकारात्मक भाव जनाउने हुनाले यसलाई डिसोसिएटिभ वा कन्भरसन डिसअर्डर भनेर चिनाइन्छ ।

के हो हिस्टेरिया ?

यसको अवधारणा बुझ्न फ्रायडले मनबारे प्रतिपादन गरेका केही सिद्धान्त थाहा हुन जरुरी छ । सिग्मन्ड फ्रायडका अनुसार मनका तीन तह हुन्छन् ।चेतना, पूर्वचेतना र अचेतना । हाल सजग भइरहेको चेतना, इच्छा मुताबिक सजग हुनसक्ने पूर्वचेतना र इच्छाएर सजग हुन नसक्ने अचेतना तह ।आफ्नो अगाडि रहेको कुनै वस्तुबारे सोच्दै गरेको, बिहान खाना खाएको याद गर्ने र सुत्दा सपना देख्ने तीन तहका कार्यका क्रमशः उदाहरण हुन् ।

साधरणतया कुनै चिन्ता पैदा गर्ने तनावकर्तालाई स्वचालित रूपमा मनले चेतनाबाट अचेतनामा गाड्छ, जसले गर्दा व्यक्ति निश्चिन्त हुन्छ । यो प्रतिक्रियालाई प्रतिरक्षा संयन्त्र भनिन्छ । घटना भएकै छैन, अर्काले गर्दा भयो, मलाई भन्दा अरूलाई बढी हानि भनी चिन्तामुक्त हुने यो संयन्त्रका केही उदाहरण हुन् । त्यस्तै कहिलेकाहीँ तनावसँग जडित मनका सबै तहलाई खण्डीकरण गरी पनि निश्चिन्त हुन सकिन्छ । यसरी खण्डीकरण चेतना, पुराना स्मृति, आफ्नो पहिचान, इन्द्रियको सूचना र शारीरिक अंगहरूमाथिको ऐच्छिक नियन्त्रणबीच आंशिक वा पूरा समन्वय टुट्न सक्छ ।

यो संयन्त्र अपरिपक्व भए पनि बेलाबखत मनलाई थाम्न यो उपाय हानिकारक नै हुँदैन । तर, बारम्बार यस्तो प्रक्रिया भएर व्यक्तिको दिनचर्यामा उल्लेखनीय क्षति भएमा यसलाई डिसोसिएटिभ डिसअर्डर भनिन्छ । प्रचलित अन्धविश्वासमा जस्तो यौन कुण्ठाले मात्र हिस्टेरिया हुँदैन । यौनतृप्ति हुँदैमा यो निको हुन्छ भन्ने पनि छैन ।

मानसिक स्वास्थ्य सेवा लिनेमध्ये १० देखि १५ प्रतिशतमा यो रोग हुन्छ । पुरुषभन्दा दुईदेखि १० गुणा बढी महिलामा यो समस्या हुन्छ । यो रोगको सुरुवात बाल्यकाल, किशोरावस्था वा ३० वर्षमुनिका वयस्क अवस्थामा नै भइसकेको हुन्छ । यो रोगका लक्षणहरू अप्रत्याशित रूपमा छिनमा आउने र छिनमै बिलाउने हुन सक्छन् । हेर्दा सुन्दा यो निकै आश्चर्यजनक र नाटकीय लाग्न सक्छ । आधुनिक मनोचिकित्साका प्रणेता फ्रायड यही रोगप्रति आकर्षित भएर निकै सफल न्युरोलोजिस्टबाट मनोचिकित्सक बन्न पुगेका थिए ।

एकै समयमा वा स्थानमा थुप्रै व्यक्तिलाई रोग लागेमा मास हिस्टेरिया भनिन्छ । प्रायः एकापसमा नजिक बाँधिएका समूहमा यस्तो हुन सक्छ ।सामान्यतया त्यस समूहको प्रभावशाली व्यक्तिलाई सर्वप्रथम रोग लाग्छ । नजिकै बस्नेहरू स्वाभाविक रूपमा आफूलाई पनि होला कि भन्दै चिन्तित हुन थाल्छन् । थरी–थरीका भयभीत पार्ने होहल्लाको सञ्चारले उक्त चिन्ताले बलियो विश्वास र बिस्तारै समाधान गर्न नसकिने तनावको रूप लिन थाल्छ ।फलतः तनाव साँच्चै उस्तै लक्षणमा रूपान्तरित हुन्छ । जसले मलाई हुँदैन भन्ने विश्वास गर्छ, त्यसलाई साँच्चै हुँदैन ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*